आफ्नो सरकारले सिफारिस गरेको राजदूतलाई अहिलेको सरकारले सिफारिस फिर्ता लिएपछि निकै आक्रामक शैलीमा प्रस्तुत भएका ओलीले यो प्रचण्ड सरकारको ठूलो गल्ती भएको बताए ।
प्रेस चौतारी नेपालले आज पार्टी कार्यालय धुम्बाराहीमा गरेको अन्तर संवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने- ‘यो प्रतिशोधको राजनीति हो, अराजनीतिक निर्णय हो । परिणाम नराम्रो हुन्छ ।’
ओली सरकारका पालामा राजनीतिक आधारमा सिफारिस भएका १४ राजदूत सिफारिसको निर्णय प्रचण्ड नेतृत्वको सरकारले उल्ट्याएको थियो ।
‘काम चित्त बुझेन भने राजदूतहरुलाई पछि फिर्ता बोलाउन सकिन्छ । तर, सुनुवाई नै रोक्नु गलत कदम हो,’ ओलीले अगाडि भने ।
जनचाहना विपरीत सरकार परिवर्तन
कार्यक्रममा अध्यक्ष ओलीले जनचाहना विपरीत कृत्रिमरुपमा आफ्नो नेतृत्वको सरकार परिवर्तन गरिएको बताए । ‘अघिल्लो सरकार परिवर्तन गर्नु कुनै आर्थिक, सामाजिक कारण थिएन । काम गर्न र शान्ति सुरक्षा कायम गर्न नसकेको आरोपमा पनि होइन,’ उनले भने- ‘कामको लागि सरकार परिवर्तन आवश्यक थिएन ।’
पूर्वप्रधानमन्त्री ओलीले आफ्नो सरकारले मुलुकको स्वाभिमान, राष्ट्रिय हित र विकास माथि उठाएको बताए । उनले साम्प्रादायिक र राष्ट्रिय एकता भाड्ने खालका क्रियाकलाप भइरहेको भन्दै राजनीतिक र संवैधानिक तित्तता ल्याउने षड्यन्त्र भइरहेको आरोप लगाए ।
अध्यक्ष ओलीले एमाले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने उल्लेख गर्दै भने– ‘सरकारका सकारात्मक कदम चाल्दा एमालेको साथ हुन्छ । तर त्यस्ता सकारात्मक काम हुने सम्भावना कम देखेको छु ।’
