यो रोग अघिल्लो बर्षदेखि आधिकारिक रुपमा नेपालमा सङ्क्रमण पत्ता लागेको उक्त रोग अहिले विभिन्न जिल्लामा देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाअन्तर्गत इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले जानकारी दिनुभयो ।
रोग पत्ता लागेमा उपचार सजिलो रहेको भन्दै उहाँले पाँचै विकास क्षेत्रका स्वास्थ्य संस्थालाई यो रोगको न्यूनीकरणका लागि आवश्यक निर्देशिकासहित निर्देशन दिएको जानकारी दिनुभयो । उहाँका अनुसार चितवनमा वैशाखयता सबैभन्दा बढी ५३ जनामा रोग सङ्क्रमण भएको पाइएको छ ।
चितवन मेडिकल कलेजले मात्रै यहाँ रोगको परीक्षण गर्दै आएको छ । जिल्लामा भाइरल ज्वरोको प्रकोप बढिरहेका बेला यसको परीक्षण अन्य अस्पतालमा समेत आवश्यक देखिएको छ । चितवनमा पाइएकामा ३३ जना जिल्लावासी रहेको र बाँकी अन्य जिल्लाका बिरामी रहेको जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी नरहरि शर्माले जानकारी दिनुभयो । बढी चितवनमा देखिएपनि यो रोग अहिले सिन्धुली, नुवाकोट, बाँके, उदयपुरलगायत जिल्लामा पनि देखिएको छ ।
“हुन त ५–६ वर्षअघि पाटन अस्पतालमा देखिएको भन्ने थियो, तर त्यो आधिकारिक र वैज्ञानिक डकुमेन्टका रुपमा आउन सकेन”, इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले भन्नुभयो, “अघिल्लो वर्ष पूर्वी नेपालमा भने वैज्ञानिकरुपमा प्रमाणित भएको हो ।” पहिलोचोटि ६ जनामा देखिएको थियो, गतवर्ष भदौ १३ गते नेपालमा रोग भित्रिएको सरकारी तहबाट प्रमाणित भएकोमा अहिले पनि करिब सोही समयमा रोग देखिएको डा शर्मा बताउनुहुन्छ ।
