सुक्खा छाला
यस प्रकारको छाला भएकाहरूले सफा देखिने भए पनि साबुनले मुख नधुनु राम्रो हुन्छ । साबुन प्रयोग गर्दा अनुहारको चिल्लोपना हराएर जान्छ । यसले छाला संवेदनशील पनि हुन्छ । त्यसैले घाम, आगोको राप पनि लाग्न दिन हुँदैन । हावाले पनि यस्तो छालालाई नोक्सान गर्छ । यस्तो छालालाई चिल्लो बनाइराख्नुपर्छ । नत्र समयभन्दा अघि नै चाउरी पर्ने डर हुन्छ । साथै, चाया आउने सम्भावना पनि बढी हुन्छ ।
चिल्लो छाला
यस्तो छालामा तैलीय ग्रन्थि बढी सक्रिय हुन्छ । त्यसैले डन्डिफोरले बढी सताउने तथा बाहिरी किटाणुहरूले पनि संक्रमण गर्छ । तसर्थ, यस्तो छालालाई बढी स्याहार आवश्यक हुन्छ । त्यसैले सधैँ नुहाउनुपर्ने हुन्छ । हप्तामा एकपटक तातो स्टिम लिनु राम्रो हुन्छ । स्टिम लिँदा एउटा भाँडोमा पानी तताउने, दुईवटा सानो रुमाल लिने र त्यो रुमाललाई पानीमा डुबाई पालैपालो मुख छोपेर बाफ दिनुपर्छ । सो कार्यपछि चिसो पानीले मुख धुनुपर्छ ।
