महिलाहरु अनुहारमा चाया–पोतो र डन्डिफोरको समस्याले पीडित छन् । यस्तो समस्या भोगिरहेका महिला उपचारका लागि घरेलु जडीबुटीदेखि अनेकौँ बजारिया क्रिम र औषधिको पछाडि दौडेको पाइन्छ । टीभीमा देखाइएका विज्ञापन र साथीभाइको सल्लाहकै भरमा पनि क्रिम प्रयोग गर्ने गरेका छन् । चिकित्सकको परामर्शबिना नै जथाभावी औषधि र क्रिम प्रयोग गर्नेहरूको जमात पनि छ । त्यसरी प्रयोग हुने कतिपय क्रिमले छाला राम्रो बनाउनुको साटो उल्टै छालामा असर गर्न सक्छन् । यिनै कारणले छालारोगीको संख्या बढ्दो देखिन्छ ।
घाम एक कारण
धेरैजसो छाला समस्या घामका कारण उत्पन्न हुने गर्छ । त्यस्तै, चाया–पोतो पनि घामका कारण नै आउने हो । घाम लाग्दा आउने अल्ट्राभाइलट किरणले छालाको रङ तयार गर्ने तत्व ‘मेलानिल’लाई पूरै क्रियाशील बनाउँछ । आवश्यकभन्दा बढी मेलानिल उत्पादन भएपछि अनुहारमा चाया–पोतो देखिन थाल्छ । निधार र गालामा मेलानिल तत्व बढी मात्रामा हुने र घामको स्पर्शले क्रियाशील हुने भएकाले अनुहारमा बढी चाया–पोतो आउने गर्दछ । त्यसैले ती स्थानमा छिटो प्रभाव देखिन्छ । पुरुषलाई पनि अनुहारमा चाया आउने गर्छ, घामकै कारणले ।
