मकाउका क्यासिनोमा रोजगारीका लागि पुगेका नेपालीहरूले कमाएको पैसा स्वदेशमा पठाउँदा हुण्डी व्यापारीले तानातान गर्न थालेको घटना बाहिर आएको छ । क्यासिनोमा काम गर्ने नेपाली गार्डलाई ‘मैले भनेको ठाउँबाट पैसा पठाउनु’ भन्दै नेपाल प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका सुदर्शन थापा मगर र किरण श्रेष्ठले धम्क्याउने गरेको एक पीडितले गुनासो गरे ।
क्यासिनोमा काम गर्ने सेक्यूरिटी गार्डहरूले वेस्टर्न युनियन मनी ट्रान्सफर, आर्ईएमई जस्ता स्वीकृत प्राप्त निकायबाट पैसा पठाउन खोज्दा पनि थापा र श्रेष्ठले अवैध हुण्डीमार्फत पैसा पठाउन दबाब दिने गरेका हुन् । सेक्युरिटी गार्डहरूको हुण्डीमार्फत पैसा पठाउने विषयमा श्रेष्ठ र थापाबीच झगडा हुन थालेपछि हुण्डी कारोबारको भित्री रहस्य बाहिर आएको हो ।
रोजगारीको शिलशिलामा मकाउ र हङकङमा काम गर्ने नेपालीहरूको मासिक झण्डै पाँच मिलियन हङकङ डलर नेपाल भित्रने गर्दछ । नेपालमा नक्कली डिभोर्स गरेको रेकर्ड बनाएर चाइनिज गर्लफ्रेण्ड बनाई थापा र श्रेष्ठले मकाउको आइडी बनाएर यस्तै प्रकृतिका अबैध धन्दा सञ्चालन गर्दै आएका छन् ।
