तर, उनलाई एउटा कुराले साह्रै नराम्रोसँग पिरोलिरहेको छ । उनी असाध्यै अशान्त छन्, छटपटाइरहेका छन् । सेक्सका बारेमा उनले प्रशस्तै पढेका पनि छन् । उनलाई लाग्छ- उनको लिंग सानो छ । श्रीमतीलाई कसरी सन्तुष्टि दिने होला ? यही प्रश्नले उनलाई भित्रभित्र खाइरहेको छ । यौन विशेषज्ञले कुनै उपाय सुझाउँछन् कि भन्ने आश छ उनलाई । भर्भराउँदो जवानी चढिसक्दा पनि चौबिस वर्षीया सीमा (नाम परिवर्तन) का स्तन आलुबखडाका दाना जत्रा छन् । अरूका पुष्ट स्तन देख्दा उनी हीनताबोधले खङ्रङ हुन्छिन् । रातारात भोगटेजत्रो स्तन बनाउने भनी पत्रपत्रिकामा छापिने विज्ञापनमा उनलाई विश्वास छैन । त्यसैले उनी पनि महिला यौन विशेषज्ञकहाँ स्तनको आकार बढाउन सकिन्छ कि भनेर पुगेकी छिन् । विवाहपछि श्रीमान्लाई स्तन सानो भएकै कारण सन्तुष्ट बनाउन सकिँदैन कि, यसकै कारण घरबारै बिग्रन्छ कि भन्ने चिन्ताले सताइरहेको छ उनलाई । सेक्ससम्बन्धी भ्रम, अन्धविश्वास या कुण्ठाका यस्ता हजारौँ केस छन् । यौन भ्रमको वृक्ष झ्यागिदै जाँदा मानिसहरू रोगी भइरहेका छन् । खुम्चेर बाँचिरहेका छन् । युगौँदेखि यौन उदार कहलिएका अमेरिकी र युरोपेली समाजमा पनि पर्याप्त यौन भ्रम छन् भने हामीकहाँ त सेक्सका बारेमा कुरा गर्न बल्ल सुरु गरिएको छ । भनिन्छ, सेक्ससँग सम्बन्धित ९० प्रतिशत समस्या मनोवैज्ञानिक हुन्छन् । 'बेड'मा जाँदा पुरुष 'ब्याटल' मा गए जसरी जानु र सेक्सलाई विजय/पराजयको विषय बनाउनु पुरुषप्रधान मानसिकता (मेल सौभनिजम) को प्रतिविम्ब हो । गुलाब बोक्नुपर्ने कोमल अवस्थामा बन्दुक बोकेपछि के हुन्छ ? असन्तुष्टि र हीनताबोधबाहेक के नै हात लाग्छन् र ? नेपाली समाज यौनका मामिलामा उदार बन्दै छ । यो उदारतासँगै सेक्ससम्बन्धी पर्याप्त भ्रम र अन्धविश्वास पनि हुर्काएका छौँ हामीले । हाम्रो सेक्स लाइफ निकै बोझिलो भएको छ । अधिकांश समय सेक्सकै बारेमा चिन्ता गरेर बिताइरहेका छौँ । आफ्नो यौनांगको साइज, यौन सम्पर्कको अवधि, दुब्लो-मोटो शरीर, स्तनका आकारलगायत भ्रमै भ्रमको महाजालमा हाम्रो सेक्स लाइफ अल्झिएको छ, बल्झिएको छ । पूर्वीय दर्शनले 'आहार, निद्रा, भय र मैथुन'लाई उहिल्यै मानव जीवनका अनिवार्य तत्व घोषणा गरिसकेका हुन् । तर, सेक्सलाई जहिले पनि छोपेर राख्नाले हाम्रो यौन जीवन निरस र पट्यारोलाग्दो भएको छ । दिनभरि 'हर्षमान्' बने पनि राती ओछ्यानमा आँशुका 'वर्षमान्' धेरै छन् यहाँ ।
