गोकर्णेश्वर नगरपालिका–१३ स्थित जोरपाटीबाट गोठाटार जाने वाग्मती पुलमुनि गुह्येश्वरीमाथिको वाग्मती सफाइ गर्दै आएको पुडासैनी मैत्री समाजले पाँच फिटको ढुङ्गामा स्तम्भ निर्माण गरेको छ । स्तम्भ उद्घाटन गर्दै सांसद गगनकुमार थापाले वाग्मती प्रदूषित बन्नामा जनता र सरकार दोषी छन् भन्दै सफाइ महाअभियान सुरु भएपछि नदीको छेउमा जान सकिने भएकाले महाअभियानलाई सकारात्मक रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
काँग्रेस केन्द्रीय सदस्य समेत रहेका नेता थापाले वि।सं २०७४ माघ ७ गतेभित्र स्थानीय निकायलगायत तीनै तहको निर्वाचन गरी संविधान कार्यान्वयनका लागि संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलका बीचमा सहकार्य हुनुपर्नेमा जोड दिए ।
सांसद रामेश्वर फुयाँलले वातावरण संरक्षणका लागि वाग्मती किनारमा पाँच फिट अग्ला वर र पिपलको रूख रोप्ने अभियानमा आफू लागेको जानकारी दिए । सांसद दीपकप्रसाद कुइँकेलले उपत्यकालाई स्वच्छ सहरमा परिणत गर्न प्रमुख नदी सफाइ अभियानमा सबै तह र तप्काको सहभागिता हुनुपर्नेमा जोड दिए ।
वाग्मती सफाइ महाअभियानका प्रमुख अभियानकर्मी लीलामणि पौडेलले वाग्मती सफाइका नाममा एसियाली विकास बैंकको अनुदान वा ऋण कुनै पनि किसिमको सहयोग स्वीकार गरिन नहुने बताए ।
‘वाग्मती हामै्र कारणले प्रदूषित बनेको हो, यसको सफाइका लागि कुनै पनि संस्थाको सहयोग लिइनुहुन्न, हाम्रै साझा अभियानलेसफा गर्न पनि नेपाली सक्षम छन् भन्ने सन्देश दिनुपर्छ’, उनले भने । गुह्येश्वरीमाथिको वाग्मती सफाइको जिम्मेवारी ‘राम्रो जोरपाटी, हाम्रो जोरपाटी’ अभियान र समाजले लिएको समाजका उपाध्यक्ष दीपक पुडासैनीले जानकारी दिए ।
