तालमा डुवेर मृत्युको मुखमा पुग्नेहरुको सूची लम्विदै गएको छ । असावधानी अथवा दुर्घटना जे भएपनि फेवा ताल काल वनेर धेरैको जीवनमा अभिशाप बन्न पुगेको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
यस्तै एउटा दुःखद् घटना श्रावण २४ गते अपरान्ह पोखराको फेवातालमा भयो । पौने ५ वजेको समयमा फेवातालमा डुङ्गा सयर गर्न गएका आठ जना युवाहरुको डुंगा पल्टेपछि सवार मध्य २ जना वेपत्ता भएका छन् ।
वेपत्ता हुनेहरुमा काठमाडौं चक्रपथका १९ वर्षिय प्रतिक श्रेष्ठ र सोही जिल्ला सुन्धाराका २३ वर्षिय एलिन केसी रहेका छन् ।
उक्त घटनामा काठमाडौंका सौगात श्रेष्ठ, रोशन न्यौपाने, सम्राट गौतम, दिपक न्यौपाने, विदुर धिताल र डुंगा चालक गंगा वस्नेतलाई उद्दार गरि गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
युवाहरु होटलको ढुंगामा सवार भएका र उनीहरुलाई लाइफ ज्याकेट नदिइएको कारण क्षति भएको घाइते पक्षले गुनासो गरेका छन् । तालपारीको लेक हाउस होटलले आफ्नै डुंगामा ति युवाहरुलाई वारीपारी ओसारपसार गरेको थियो ।
अपरान्ह ४ बजेपछि हावा चल्दा चल्दैको अवस्थामा लाइफ ज्याकेट नलगाइकन ताल पारीबाट वारी पठाइएको थियो । हावाका कारण डुङ्गाले सन्तुलन गुमाएको उद्दारका लागि टोली ढिला पुगेको घाइतेलाई उद्घृत गर्दै आफन्तले बताएका छन् ।
पैसा कमाउन सर्वसाधारण नागरिकको जीवनसँग खेलवाड गर्ने तालपारीको लेक हाउस होटलका सञ्चालक मात्र हैन अनुगमनका लागि टावरमा खटिने सशस्त्र प्रहरी समेत यस घटनामा दोषी रहेको कतिपय प्रत्यक्षदर्शीले टिप्पणी गरेका थिए ।
होटल, रिसोर्ट र रेष्टुराहरुले आफ्नै प्रयोगका लागि राखिएका डुङ्गाहरु ग्राहकहरुको लागि प्रयोग गर्न रोकिनु पर्ने र लाइफ ज्याकेट नलगाई डुङ्गा चलाउने होटल व्यवसायीलाई कडा कारवाही गरिनुपर्ने र त्यसो नगरिए यस्ता लारवाही पूर्ण घटना दोहोरिरहने निश्चित छ ।
