नेदरल्याण्ड्सको एम्स्टलभिनमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ। प्रतियोगितामा नेपाल र नेदरल्याण्डसहित हङकङ, पपुवा न्युगिनी, स्कटल्याण्ड, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स युएई गरी ८ राष्ट्र सहभागी छन्।
अहिलेसम्म खेलका ६ खेलमा चार खेल जितेको नेदरल्याण्ड्स १० अंकसहित शीर्ष स्थानमा छ। ६ खेलमा चार खेल गुमाएको तथा दुई खेल जितेको नेपाल चार अंकसहित छैटौं स्थानमा छ।
नेपालका लागि शीर्ष स्थानको नेदरल्याण्ड्ससँगको खेल कठिन हुने देखिएको छ। यसअघि भएका पहिला चार खेलमा नेपाल स्कटल्याण्ड र पपुवा न्युगिनीसँग पराजित भयो। तर काठमाडौंमा भएको नामिबियासँगको खेलमा भने नेपाल विजयी भएको थियो। अहिले नेदरल्याण्ड्ससँगको खेलका लागि उसकै मैदान पुगेको नेपाली टोलीका लागि नेदरल्याण्ड्सको टिम र मैदान दुवै चुनौतीको रुपमा छन्।
गएको बिहीबार भएको अभ्यास खेलमा नेपाली टोली नेदरल्याण्ड्स एसँग ८८ रनमै अलआउट हुनुले पनि शनिबारको खेल कठिन हुने देखिएको छ। घरेलु मैदान र अघिल्ला चार खेल जितेको मनोबल नेदरल्याण्ड्सको टोलीको बलियो पक्ष हो। यस्तै नेदरल्याड्सको टोली आफैमा पनि बलियो छ।
नेपाली टोलीले नेरल्याण्ड्स जानु अघि इंग्ल्याण्डमा तयारी गरेको छ। इंग्ल्याण्डमा रहँदा नेपाली टोलीले त्यहाँका स्थानीय टिमसँग पाँच वटा अभ्यास खेल खेलेको थियो र सबैमा जितेको थियो। यो जित र तयारीले नेपाली टोलीको मनोबल केही बलियो बनाएको छ। कप्तान पारस खड्काले नेदरल्याण्ड्स राम्रो टोली भएकाले बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्षमा राम्रो गर्नु पर्ने बताएका छन्। उनले आफूहरुले तयारी गरेको बताएका छन्।
नेपाल र नेदरल्याण्ड्सबिच एक दिवसीय क्रिकेटमा पछिल्लो पटक गएको जनवरीमा नामिबियामा भएको थियो। विश्व क्रिकेट लिग डिभिजन दुईको खेलमा नेपालले दुई विकेटको जित दर्ता गरेको थियो। नेपालले नेदरल्याण्ड्ससँग दोस्रो खेल सोमबार खेल्नेछ। -
